Photo: Wallpaperflare |
अझै पनि म कसैले नारी भन्दा,
शोषण सुन्छु, दमन सुन्छु,
अत्याचार अनि बलात्कार सुन्छु।
किन सुन्छु ? उत्तर छैन,
तर,
तर, थाहा छ यो कुरा
कि, ती मसिना बालबालिकाले बरालिँदै बाटोमा आफ्नो बालापन आफ्नै ढङ्गमा बगाउन पाउँदैनन् अचेल।
छोरीलाई घरबाट बाहिर पठाउन पनि अझै कोही भरपर्दो साथी खोज्छन् बाआमा।
भर गरेकै मान्छेले पनि अचेल डर देखाउन थालेपछि नै हो
छोरीहरू थुनिएको ढोकाभित्र उनिएर बस्नुपरेको।
अझै कतिन्जेल यसरी छोरीहरू खुलेआम घुम्ने आशमा, डर अनि त्रासमा बाँचिरहनु पर्नेछ ?
त्यो पनि मलाई थाहा छैन।
कहिले देउकी बनाएर मन्दिरमै लुटियो अस्मिता र इज्जत।
कहिले छाउगोठ पठाएर अकालमै मारिए ती नानीहरू।
कहिले वादी बनाएर खेलौना जस्तो बनाइयो,
त कहिले दाइजो नल्याएको आरोपमा बुहारीलाई मट्टितेल खन्याइयो।
कमलरी बनाएर हक अनि अधिकार खोसियो।
बलिरहेको चितामा घरीघरी सती बनाएर झोसियो।
नौ वर्ष नै नभई नौ महिनाको पेट बोक्न यिनैले पर्छ
बालखैमा विधवा बनी तिरस्कार सहन यिनैले पर्छ।
उत्तरमा दिनलाई मसँग शब्द कुनै छैन,
त्यसैले नसोध फेरि किन पर्छ ?
सृष्टिकर्ता नारीलाई हेर्ने दृष्टि, अझै किन खराब छ?
ती कोमल आवाजहरू रुद्रघण्टीको घण्टी बजाउँदै घाँटीबाट बाहिर
निस्कन किन दिइँदैन?
आमा किन बारीमा अनि बुबा किन बारमा?
बुबा सधैँ घरबाहिरै, आमा हुन्छिन् समस्याको मारमा।
छोरीलाई कहिलेसम्म पराई धन मान्ने हो?
प्रेम नपाएको परिवेशमा प्रेमिकालाई कहिलेसम्म तातो तेजावले अनुहारमै हान्ने हो?
अझै कहिलेसम्म?
आखिर कहिलेसम्म?
कहिलेसम्म चल्छ यो नारी हिंसाको चलन ?
कहिले मेटाउन पाउँछन् नारीहरूले मनभित्रको जलन?
कसैले नारी भनेको सुन्दा, म कहिले आभास गर्न पाउँछु माया, ममता र खुसी आफ्नो मनभित्र?
कहिले?
- शननिरौ
No comments:
Post a Comment